२०८१ पुष ११ , बिहिवार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

सुनाखरी न्युज/ काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हार्दिक बिदाइ गर्नुभएको हो ।

 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह प्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्यसम्पादनको प्रशंसा गर्नुभयो । संगठनमा सुधार तथा हितको लागि गरिएको प्रयासहरूमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि संगठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

 

सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

 

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा बैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरुका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भई नेपाल प्रहरीको संस्थागत विकासमा दूरगामी प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिकता, नैतिकता, इमानदारिता र अविचलित रूपमा कर्तव्यपथमा लागि रहने क्षमता हाम्रा सामु स्पष्ट रहेको चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले संगठनमा बहाल रहँदा र सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उहाँहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताउनुभयो । समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापालाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती कुसुमलता सिंहले सम्मान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरु समेत गरी १९ जना रहनुभएको छ ।

 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हार्दिक बिदाइ गर्नुभएको थियो ।