२०८१ आश्विन १४ , सोमवार

आर्थिक प्रलोभनमा पर्ने कसैलाई छाडिँदैन : सशस्त्र प्रहरी महानिरीक्षक

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक राजु अर्यालले प्रहरी कर्मचारीको सरुवा, बढुवा, मिशनलगायतका कार्यहरु वैज्ञानिक र पारदर्शी ढङ्गले अगाडि बढाउँदै सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि आयोजित समारोहमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलापमा नलाग्न निर्देशन दिनुभयो । उहाँले आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा नछाडिने बताउँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो छ ।

 

महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाँती राखी राष्ट्र र सङ्गठनले लिएको लक्ष्य प्राप्तिमा एकजुट भई सामूहिक भावनका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘वान जनरल वान कन्सेप्ट’ को नीति लागू गरी सङ्गठनलाई अगाडि बढाइने उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीको हितका लागि मौजुदा कल्याणकारी कार्यलाई समयसापेक्ष परिमार्जन गरिने बताउनुभयो ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेकाले कार्यक्षेत्रमा खटिँदा सभ्य र अनुशासित भई जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।