२०८१ आश्विन १४ , सोमवार

वालेट कारोबारमा थप कडाइ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट कारोबारमा कडाइ गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गरी सोमबार देखी वालेट कारोबारमा थप कडाइ गरेको हो ।

 

उक्त निर्देशिका जारी संगै अब विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने भएको छ । सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइदैन । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन भन्ने राष्ट्र बैंकको व्यवस्थामा उल्लेख छ ।

 

यो सगै विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुनबमोजिम सहुँला÷बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रूपमा स्वःघोषणा गर्नु पर्ने व्यवस्था पनि थप भएको छ ।विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।