२०८१ असार १८ , सोमवार

दलित मतदाता भन्छन्- सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्

सुनाखरी न्युज/ जनकपुर –

सिराहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस्।’ यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहरबस्ती पुग्ने उम्मेदवारले स्थानीय मतदाताको यो जवाफ सुनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन्।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा अवस्थित ४० घरपरिवारका बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ। एकातिर निजी जग्गा नहुँदा पूरै बस्ती नै ऐलानी जग्गामा बसोबास गरिरहेका छन् भने अधिकांशको घरमा अझै शौचालयको समस्या रहेको स्थानीयबासीको भनाइ छ। दैनिक मजदूरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका सो बस्तीका मतदाताले बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौं भन्दै आएका छन्।

 

आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी फूलकुमारी सदाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताइन्।‘सधैंभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं’, उनले भनिन्,‘नेताहरू भेट्न आउने भनेको चुनावकै बेला हो, अरूबेला उहाँहरूको अनुहारै देख्न पाइँदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु।’ स्थानीयबासी ५० वर्षीय झौला सदायले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताए। ‘वर्षौंदेखि हामीले भोट हालेर माननीय मन्त्री बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरूको समस्या बुझ्नै आउँदैनन्’, उनले भने, ‘त्यसैले यही बेलामा नेताहरूसँग केही कुरा माग्ने हो।’

 

‘पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौं, तर हाम्रो अवस्थामा भने केही सुधार आएन’, उनले थपे, ‘अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौं।’करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उनीहरू सुरक्षित आवास र शौचालय खोजेका हुन्। माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुप्रा घर भएको उक्त बस्तीमा मत माग्न आउने उम्मेदवारले आफूहरू निर्वाचित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेको स्थानीयवासीले बताएका छन्। ‘हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ, यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौं भन्ने विभिन्न उम्मेदवारले प्रतिबद्धता जनाइरहेका छन्’,स्थानीयवासी तारादेवी सदाले भनिन्, ‘यस्तो प्रतिबद्धता थुप्रै पाए तर चुनावपछि त्यो प्रतिबद्धता पूरा भएन, यसपालि विश्वासिलो नेतालाई मात्र मत दिन्छु।’

 

स्थानीयवासी रामबत्ती सदायले आर्थिक अभावकै कारण एउटा राम्रो घर बनाउन नसकिएको बताउँदै मन नभएर घर नबनाएको होइन, कमाइले खानलाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो भनी प्रश्न गरिन्। ‘पहिला-पहिलाको चुनावमा नेताहरूले पैसा बाँडेर मत किनेर जित्ने गरेका थिए, तर अब हामी यस्तो हुन दिँदैनौं, यसका लागि हामी एक भएका छौं’, स्थानीयवासी जीतन सदाको भनाइ छ। वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन। कूल आठ नगरपालिका र ९ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिराहामा चार लाख १४ हजार १६६ मतदाता रहेका छन्। जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ। रासस