२०८१ आश्विन १४ , सोमवार

स्थानीय तह निर्वाचन २०७९ : सकियो स्थानीय चुनावको मतपत्र छपाइकाे काम

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ ।

 

नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत जानकारी दिनुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले समेत निर्देशन दिएको छ ।

 

त्यस्तै, उपयुक्त कारण परेको अवस्था बाहेक कुनै कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ । प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको जानकारी गराउनुभयो ।

 

प्रवक्ता अधिकारीले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको बताउनुभएकाे छ । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितलाई दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको छ । मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो ।