२०८१ मंसिर ९ , आइतवार

मरिउपोलका स्थानीयलाई बाहिर जान रोक

सुनाखरी न्युज/ काठमाडौं –

रुसी फौजले युक्रेनी सहर मरिउपोलका स्थानीयलाई त्यहाँबाट अन्यत्र जान रोकेको युक्रेनका अधिकारीहरूले जनाएका छन्। युक्रेनको मरिउपोल सहरस्थित बन्दरगाह क्षेत्रमा तैनाथ रुसी सेना ।

यसअघि रुसले तीन दिनका लागि उक्त सहरमा आक्रमण नगर्ने र सर्वसाधारणलाई अन्यत्र जान दिइने जनाएको थियो । तर रुसी फौजले बिहीबार मरिउपोलस्थित एजोभस्टल स्टिल कारखानामा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी अधिकारीले भने कारखाना क्षेत्रमा आफ्नो सेनाले आक्रमण नगरेको र स्थानीयलाई त्यहाँबाट अन्यत्र जान दिइएको बताएका छन् । कारखानामा बालबालिकासहित करिब २ सय सर्वसाधारण रहेका जनाइएको छ ।

 

त्यस्तै, करिब ५ सय युक्रेनी घाइते सैनिकले समेत त्यहाँ आश्रय लिइरहेका जनाइएको छ । यसअघि त्यहाँबाट करिब १ सय ५० जनाको उद्धार गरिएको थियो । कारखानाभित्र रहेका युक्रेनी कमान्डरहरू भने रुसी फौजले आक्रमण जारी राखेको र आफूहरूले कठिन लडाइँ लडिरहेको बताएका छन्। कतिपय सञ्चारमाध्यमहरूले कारखाना परिसरमा रुसी फौज प्रवेश गरेको दाबी गरेका छन्। यद्यपि, त्यसको पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।

 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघलाई अपिल गरेका छन् । ‘हाम्रा लागि सबै नागरिकको ज्यान उत्तिकै महत्त्वपूर्ण छ। उनीहरूलाई जोगाउन हामी मद्दत माग्छौं,’ राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँगको टेलिफोन कुराकानीमा जेलेन्स्कीले भने। एजेन्सी