२०८१ पुष २७ , शनिवार

काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

सुनाखरी न्युज/ खोटाङ –

नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ ।

 

कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गाविस अध्यक्ष राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा वडाध्यक्षको बागी उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर थापा रहेका छन् । तामाङले ऐँसेलुखर्क गाउँपालिकामा चार दलीय गठबन्धनका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईविरुद्ध तथा राईले काँग्रेसका तर्फबाट बतासेका आधिकारिक उम्मेदवार राजदेश राई र थापाले काँग्रेसका तर्फबाट सिम्पानीमा वडाध्यक्षका आधिकारिक उम्मेदवार सुशील उदासविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको जिल्ला सभापति विष्णुकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

पार्टीको कारवाहीमा परेका काँग्रेसका तीनै जनाले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनीहरुको चुनाव चिह्न मुढा रहेको छ । त्यस्तै ऐँसेलुखर्क गाउँपालिकाको उपाध्यक्षमा चार दलीय गठबन्धनका साझा उम्मेदवार काँग्रेसका राजेशकुमार राजभण्डारी रहेका छन् । त्यहाँ काँग्रेसको गाउँपालिका पार्टी सभापति नै बागी उम्मेदवार बनेपछि गठबन्धनलाई घाटा हुने देखिएको स्थानीयवासीको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लामा अन्य दलका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका नेताहरुले तोकिएको अवधिभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बागीसहित एक हजार २८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा वैशाख ३० गते हुने निर्वाचनबाट ४१५ जनप्रतिनिधि चुनिने छन् ।चुनावी मैदानमा रहेका राजनीतिक दलका नेताहरू अहिले आ–आफ्नो पक्षमा जनमत जुटाउन चुनावी सभा तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरू केन्द्रीय निर्देशनानुसार चुनावी तालमेल गरेर अगाडि बढेका छन् । रासस