२०८१ मंसिर १२ , बुधवार

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

सुनाखरी न्युज/ म्याग्दी । गएराती म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा भएको ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

 

अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

 

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकदेखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको हो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।