सुनाखरी न्युज/ काठमाडौं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।
उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ ।
नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।