२०८१ आश्विन १४ , सोमवार

३१७ पालिकाको नतिजा : कांग्रेस १४३, एमाले ९२ र माओवादी ६९ वटामा विजयी

सुनाखरी न्युज/ काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ३१७ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कांग्रेस १४३ वटा पालिकाको नेतृत्वमा जित हासिल गर्दै पहिलो बन्न सफल भएको छ ।

 

कांग्रेसले अहिलेसम्म ३० वटा नगरपालिकाको मेयर र ११३ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले २१ वटा नगरपालिकाको उपमेयर र ११५ वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । यस्तै कांग्रेसले १,६६४ वटा वडामा वडाध्यक्ष जितेको छ । नेकपा एमाले ९२ वटा पालिकाको नेतृत्व जितेर दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म १६ वटा नगरपालिकाको मेयर र ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एमालेले २१ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष र १,२६९ वडाको अध्यक्ष जितेको छ ।

 

 

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात वटा नगरपालिकाको मेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ६९ वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ वटा नगरपालिकाको उपमेयर, ६४ वटा गाउँपालिकाको उपाध्यक्ष र ७२१ वटा वडाको अध्यक्ष पद जितेको छ । नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर, ६ वटा गाउँपालिकाको उपाध्यक्ष र १०५ वटा वडाको अध्यक्ष पद जितेको छ ।

 

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयरसहित सबै ठाउँमा जित निकालेको छ । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् । जनता समाजवादी पार्टीले चार वटा पालिकाको अध्यक्ष जितेको छ ।