२०८१ आश्विन १४ , सोमवार

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

पर्वत – कुश्मा नगरपालिका-८ ओडारेस्थित सडकमा ग.१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार साँझ ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १४ जनामध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन भने गम्भीर अवस्थामा रहेका १ जनाको गण्डकी अस्पताल पोखरामा र अन्यको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कैलाली – गोदावरी नगरपालिका-३ भैसीहाट बजार नजिक सडकमा म.१ क ४२९ नम्बरको टिपरले से.४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सर्लाही – ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा ना.५ ख ५५१५ नम्बरको बस र प्रदेश ३-०१-०२५च ५७४३ नम्बरको गाडी एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा बसका सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय भिम राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बस चालक समेत १० जनाको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

 

सप्तरी – बलानबिहुल गाउँपालिका-६ सेहरा चौकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २२ वर्षीय लोचन यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको स्थानीय सिटी अस्पताल चन्ही चौक सप्तरी हुँदै थप उपचारको लागि घोपा अस्पताल धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको घोपा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।