२०८१ आश्विन १४ , सोमवार

नयाँ सिस्टम सहित आइतबारबाट लाइसेन्स आवेदन खुल्दै

सुनाखरी न्युज/ काठमाडौं । यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ । पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो ।

 

काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन । विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो । यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जनाकारी दिए ।‘सिस्टमको अझै केहि काम बाँकी नै छ, शुक्रबारसम्म सकेर आगामी आइतबारबाट आवेदन लिने भन्ने छलफल भएको छ’ पोखरेलले मेरो लगानीसँग भने । अब सेवाग्राहीले राजश्व अनलाइन मार्फत भुक्तानी गरेपछि मात्रै यातायात कार्यालय पुग्नु पर्ने गरी सिस्टम डिजाइन गरिएको छ ।

यसैगरी, आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन पाउने छन् । अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघीयता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नु पर्नेछ । नागरिकता तथा डक्युमेन्ट समेत सिस्टममै अपलोड गर्न सकिनेछ । यदि गृहमन्त्रालयमा भएको नागरिकता अनुसार डेटा नभएको खण्डमा यातायात कार्यालयमा गएर नाम रुजु गराउनु पर्छ । नाम तथा आफ्नो व्यक्तिगत विवरण सच्याउनै कै लागि कार्यालय पुग्नुपर्ने र राजश्व तिर्न लाइन लाग्नु पर्ने बाध्यता हट्ने छ ।