२०८१ मंसिर १२ , बुधवार

काठमाडौंको मेयरमा २५ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय निर्वाचन अन्तरगत देशका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेको छ । काठमाडौं महानगरपालिकाकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

 

पछिल्लो परिणाम अनुसार बालेन्द्र साहले २५ हजार ४ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १३ हजार ४ सय ९९ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो पार्नुभएको छ । उहाँले १८ हजार ७ सय ८५ मत पाउनुभएको छ भने नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १५ हजार ४ सय ५० मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएकाे छ।

 

त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले २० हजार ७ सय ९५ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाले १५ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएकाे छ । त्यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्य २५ हजार २ सय २६ मतसहित अग्र स्थानमा रहदा एमालेका कृष्ण बहादुर थापाले २२ हजार १ सय ९२ मत प्राप्त गर्नुभएकाे छ ।

 

त्यसैगरी, वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले १९ हजार ४२९ मत प्राप्त गर्दा नेकपा एमालेका विजयकुमार सरावगीले १० हजार १ सय ६१ मत प्राप्त गर्नुभएकाे छ ।