२०८१ मंसिर २ , आइतवार

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरू को सुनुवाइ, उजुरीको छानविन गर्दै

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकोविरुद्धमा परेका उजुरीको सन्दर्भमा सुनुवाइ गरेको हो ।

 

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टिकरण सोधिएको बताउनुभयो । प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताउनुभयो । समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताउनुभयो ।

 

नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत् तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवर्द्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने उहाँले बताउनुभयो । उहाँले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु¥याउन मुख्य भुमिका खेल्ने कुरामा जोड दिने बताउनुभयो ।

 

प्रस्तावित राजदुत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालको आर्थिक, कुटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पु¥याउने गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने उहाँले बताउनुभयो ।