२०८१ आश्विन १४ , सोमवार

काठमाडौंमा बालेन, भरतपुरमा रेनु, ललितपुरमा चिरीबाबु, पोखरामा धनराज र वीरगञ्जमा राजेशमानको अग्रता

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म एक लाख ३ हजार बढी मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजारभन्दा बढी मतको अग्रता लिनुभएको छ ।

 

बालेन शाहले ३८ हजार ३ सय ३३ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २१ हजार २ सय ९९ मतसतिह दोस्रो स्थानमा उक्लिनुभएको छ । नेकपा एमालेका केशव स्थापित २१ हजार ८ मतसहित तेस्रो स्थानमा झर्नुभएको छ । काठमाडौंमा अब करिब ८६ हजार मत गन्न बाँकी छ । उता, चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । दाहालले ३१ हजार ६७६ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत पाउनु भएको छ ।

 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गर्नुभएको छ । यता, ललितपुर महानगरको मेयरमा चिरीबाबु महर्जनले २७ हजार २ सय ४२ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ । यस्तै पोखरा महानगरपालिकामा गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३७ हजार १ सय २२ मत ल्याउँदा एमालेका कृष्णबहादुर थापाले ३३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

 

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले २७ हजार ५ सय १५ मत ल्याउँदा एमाले उम्मेदवार विजयकुमार सरावगीको १४ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ । देशका ६ वटा महागरपालिका मध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला मेयरमा विजयी हुँदा उपमेयरमा भने एमालेकी शिल्पा कार्की विजयी हुनुभएको छ ।