२०८१ पुष २८ , आइतवार

राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा सङ्कलन सुरु

सुनाखरी न्युज/ काठमाडौं –

सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका कार्यालय प्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्षदेखि निकुञ्जले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो ।

 

उक्त निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छ । कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ ।

 

अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् । यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलित यार्सागुम्बा बिक्रीमार्फत उनीहरुले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने गरेका स्थानीयको भनाइ छ ।

 

यार्सागुम्बा सङ्कलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्ला भित्रकालाई रु दुई हजार र जिल्ला बाहिरकाको लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ । निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक रु ५० लाख बढीको राजस्व सङ्कलन गर्ने गरेको छ ।

 

गुणस्तरका आधारमा १ नम्बरको यार्सागुम्बालाई केजीको रु ४० लाखसम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सा गुम्बाप्रति केजी रु साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्ग किलोमिटरमा फैलिएको छ । रासस