२०८१ पुष २६ , शुक्रवार

दक्षिण एसियामा बढ्दै गएको संकटका बारेमा गम्भीर बन्न विज्ञको आग्रह

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताहरुले दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न  आग्रह गरेका छन् । काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्चको छैटौँ वार्षिक सभामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

 

कार्यक्रममा आर्थिक, राजनीतिक र मानवीय संकट बेहोरिरहेका दक्षिण एशियाली देशहरु श्रीलंका र अफगानिस्तानका बारेमा विशेष प्रस्तुति भएका थिए । अफगानिस्तानका एक सामाजिक अभियन्ताले तालिवान सत्तामा आएपछि आर्थिक, राजनीतिक र सामाजिक प्रणाली ध्वस्त भएको र धेरै नागरिकहरु विस्थापित जीवन बिताइरहेको बताए ।

 

दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र वञ्चितिकरणमा अन्त्य नभएसम्म असमानता बढ्दै जाने भएकोले चाहेको सामाजिक न्याय र समानता हासिल हुन नसक्नेतर्फ सचेत गराउँदै कार्यक्रमका सहभागीहरुले सम्वन्धित देशका सरकारहरूलाई उचित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

 

अफगानिस्तानी नागरिक आधारभूत मानवअधिकारबाट वञ्चित भएको जनाउँदै उनले महिला र बालबालिकाको अवस्था थप दर्दनाक रहेको बताए । साथै उनले यो अवस्थामा सुधार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । यसैगरी श्रीलंकाका निमल्का फर्नान्डोले श्रीलंकाको आर्थिक संकटबारे जानकारी दिँदै त्यहाँका नागरिकहरु चरम संकटमा रहेको बताए ।