सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री देउवाले लोकतन्त्रका मूल्य मान्यता र नागरिक स्वतन्त्रताप्रति आफ्नो अटल आस्था एवं विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्र स्थापनाका लागि अहिलेसम्म भएका सबै आन्दोलन र सङ्घर्षमा अग्रणी भूमिका आफू आबद्ध नेपाली कांग्रेसले निर्वाह गरेको स्मरण गर्नुभयो । “यसो भनिरहँदा अन्य राजनीतिक दलको योगदानलाई कम मूल्याङ्कन गरेको कदापि ठान्नु हुँदैन ।
व्यक्तिगत रूपमा भन्नु पर्दा लोकतन्त्र, मानव अधिकार र कानुनको शासनप्रतिको मेरो आस्था र विश्वास कहिल्यै पनि डग्मगाएन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाई तीव्र गतिमा विकास र समृद्धि प्राप्त गर्नु हाम्रो साझा गन्तव्य हो । मेरो नेतृत्वमा रहेको गठबन्धन सरकारले संवाद, सहमति र सहकार्यमा जोड दिँदै आएको छ । आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रमले यो गन्तव्यमा पुग्नका लागि मार्गचित्र तयार पारेको छ,” उहाँले भन्नुभयो । कोभिड-१९ का कारण मानव स्वास्थ्यलगायत संलग्न आर्थिक सामाजिक क्षेत्रमा परेको प्रतिकूल अवस्थालाई उपचार खोप र राहत उपलब्ध गराउन सरकारले सघन रूपमा चालेका कदमबाट सम्बोधन भएकाले नेपाली जनतामा आशा र उत्साह बढेको उहाँको भनाइ थियो । उहाँले यसबाट जनताको सरकारप्रतिको भरोसा बढेको बताउनुभयो ।
कोभिड-१९ महामारीको प्रभावबाट मुक्त हँुदै अर्थतन्त्र र सामाजिक क्रियाकलाप क्रमशः सामान्य हुँदै गएको अवस्थामा युक्रेनमाथिको आक्रमण र त्यसबाट सिर्जित प्रतिकूलताले फेरि जटिलता निम्त्याएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमै भएको अप्रत्याशित मूल्यवृद्धि र आपूर्ति शृङ्खलामा उत्पन्न असहजता यसको ज्वलन्त उदाहरण हुन् भन्नुभयो । यसबाट हाम्रो अर्थतन्त्रमा पर्नसक्ने बाह्य चापको जोखिमलाई सम्बोधन गर्दै आर्थिक पुनरुत्थानका कार्यक्रममार्फत जनजीवनलाई सामान्य अवस्थामा ल्याउन सक्ने नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले प्रस्तुत नीति तथा कार्यक्रमले यसै मर्मलाई आत्मसात् गरेको स्पष्ट पार्नुभयो ।
नीति तथा कार्यक्रमले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ऊर्जा, पर्यटन, यातायात, कृषि र सूचना प्रविधिलाई विकासको मुख्य संवाहक क्षेत्रका रुपमा अघि बढाएको बताउँदै उहाँले उत्पादन, उत्पादकत्व, रोजगारी र आय वृद्धि, पूर्वाधार निर्माण, मानवपूँजी निर्माण, आय असमानता र बहुआयामिक गरिबीको दरमा कमी, दिगो विकास र पर्यावरणीय सन्तुलन, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । यस नीतिमा वित्तीय एवं मौद्रिक नीतिबीच संयोजन कायम गरी अर्थतन्त्रलाई बाह्य जोखिमबाट मुक्त गर्न र तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिइएको उहाँको भनाइ थियो ।