२०८१ आश्विन १३ , आइतवार

यातायात विभागले ल्यायो लाइसेन्सको नयाँ आवेदन प्रणाली, १५ दिनमै पालो पाइने

सुनाखरी न्युज/ काठमाडौं –

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणाली अनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताए।

 

‘१५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुन्छ। त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्छ,’ उनले भने।कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो।

 

विभिन्न सिफ्टमा परीक्षा सञ्चालन गरी सन् २०२४ सम्मको पालो परेका सबै परीक्षा सकाएर नयाँ प्रणाली सुरू गर्न लागेको हो। छुटपुट भएकाहरुका लागि पनि विभिन्न यातायात कार्यालयहरुले पटक पटक सूचना जारी गरेका थिए। त्यसपछि पनि छुटेको अवस्थामा भने आजदेखि हालसम्म परेका आवेदन खारेज गरी नयाँ प्रणाली लागू हुने विभागले बताएको छ।

 

नयाँ प्रणाली विभागले यहि जेठ ४ गतेदेखि नै लागू गर्ने घोषणा गरेको थियो। तर प्राविधिक समस्याका कारण चार गतेबाट सो व्यवस्था लागू गर्न नसकिएको महानिर्देशक घिमिरेले बताएका थिए। नयाँ व्यवस्थाअनुसार सिमित आवेदन लिने र परेका आवेदनको ट्रायल सकाएर मात्रै नयाँ खुलाउने योजना विभागको रहेको ।

 

जसअनुसार एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ। नयाँ प्रणाली लागू भएपछि आवेदन दिएर ट्रायलका लागि दुई तीन वर्ष कुर्नुपर्ने बाध्यता हट्ने विभागका महानिर्देशक घिमिरेको तर्क छ।