२०८१ मंसिर १२ , बुधवार

महानगरको फोहर व्यवस्थापनका लागि प्रमुख शाहको संयोजकत्वमा कार्यदल

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

 

कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्ममा कामपाले सङ्केत चिह्न राख्‍नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

 

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक आज १० बजे पुनः बस्नेछ ।