२०८१ आश्विन १३ , आइतवार

तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको थप शव आज काठमाडौं ल्याउने तयारी

सुनाखरी न्युज/ काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा मंगलबार थप १० वटा शव ल्याउन लागेको हो ।

दुर्घटनास्थलबाट चार शव आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ र ती शव सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ । विमानमा रहेका २२ जना मध्ये २१ जनाको शव फेला परिसकेको छ भने एउटा शव खोज्न सुरक्षाकर्मीहरू बिहानैदेखि परिचालन गरिएको छ । सोमबार काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बाँकी शवहरु पनि ल्याएर पोस्टमार्टम गरी परिवारजनलाई बुझाइने छ । यसैबीच, सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको दुर्घटना जाँच समिति गठन गरेको हो । समिति सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने सदस्य रहनुभएको छ । समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको छ ।