२०८१ आश्विन ५ , शनिवार

‘प्रकाश’ को टिजर : फरक लुक्समा प्रदीप र दिया

सुनाखरी न्युज/ काठमाडौं –

अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’ को टिजर सार्वजनिक भएको छ । सधैँ प्रेमकथाका फिल्ममा रोमान्टिक अवतारमा देखिँदै आएका प्रदीपलाई ‘प्रकाश’मा भिन्न अवतारमा देख्न सकिन्छ । जसको केही झलक टिजरमा समेत समेटिएको हो ।

 

टिजरमा प्रदीप जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत भएका छन् । पिताको पर्खाइमा रहेको छोरा र उसको गाउँको स्कुलमा शिक्षक बन्ने सपनालाई टिजरमा देखिएको छ । प्रदीपको मन छुने अभिनय, भिन्न लुक्स र जुम्लाको खस भाषामा बोलेको संवादले भरिएको टिजरले गर्दा दर्शकमा फिल्म प्रति कौतुहलता जगाउन सफल देखिन्छ । फिल्म ‘प्रकाश’बाट प्रदीपको लभर ब्वाईको छवि मेट्न सक्छन् सक्दैनन् त्यो भने फिल्मको रिलिजसम्म पर्खनुपर्ने हुन्छ ।

 

​टिजरको बलियो अर्को पाटो अभिनेत्री दिया मास्केको लुक्स पनि हो । जुम्लाको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी निराश र गम्भीर देखिएकी छन् । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ बाट तारिफ बटुलेका राउतले यो फिल्ममा समाजभित्रको गहन मुद्दालाई उठाउने आँट देखाएका छन् । १० भदौबाट प्रदर्शनमा आउने फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

 

प्रदीप र दियाको अलावा फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक लगायतको अभिनय छ । फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत समेटिएको छ । एजेन्सी