२०८१ आश्विन १३ , आइतवार

पोखरामा खाद्य स्वच्छता दिवसमा जनचेतनामूलक कार्यक्रम गरिने

नारायण क्षेत्री/ पोखरा । खाद्य स्वच्छता दिवसका अवसरमा पोखरामा विभिन्न जनचेतनमूलक कार्यक्रम गरिने भएको छ । बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले जेठ २४ गते सम्म आम उपभोक्ताहरुलाई खाद्य स्वच्छताको महत्वबारे जानकारी गराउने उद्देश्यले सप्ताह व्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गरिने बताए ।

 

 

२०६५ देखि खाद्य स्वच्छता दिवस मनाइँदै आएपनि यस बर्ष देखि भने प्रदेश र जिल्ला स्तरमा पनि मनाउन थालिएको हो । दिवसका अवसरमा बजार अनुगमन तथा निरीक्षण, स्वच्छता सम्बन्धि अन्तक्र्रिया गरिने भएको हो र्। स्वच्छ सन्तुुलित आहार, स्वस्थ जीवनको आधार, नारासहित बुधबारदेखि सुरु भएको दिवस अन्तर्गत २४ गते प्रभातफेरी तथा मूल समारोह कार्यक्रम गरिने बरालले जानकारी दिए ।

 

 

बरालले विभिन्न उद्योगहरुबाट संकलन गरिने नमुनाहरुको परिक्षणका लागि जनशक्ति र स्रोत साधन समेत पर्याप्त रहेको बताए । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कोपिलनाथ कोइरालाले खाद्यवस्तु उपभोग गर्दा स्वयं उपभोक्ता नै सचेत र सजग हुनुपर्ने बताए । बिशेषगरी खानेतेल, पानी, दुग्घजन्य पदार्थ तथा खाद्यन्नमा मिसावट हुने गरेको भन्दै विभागले अनुगमन गर्दै आइरहेको छ ।

 

विभागले खाद्यान्नको गुणस्तर कायम राख्न दिवस मनाउँदै आएपनि बजारमा स्वास्थ्यलाई असर पार्ने दुषित र अखाद्य वस्तुहरुको विक्रि वितरण हुँदै आइरहेको छ । कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक बर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निणर्य गरेको थियो ।