सुनाखरी न्युज/ मकवानपुर । मकवानपुर प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका-१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोतरीको अभय कुमार यादवको सट्टा परिक्षा दिएका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैंया, ४ जनाको नागरिकता, दुईवटा मोवाइल फोन र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरि नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी, हेटौंडा-११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिईहेको मोटरसाइकलको सवारी चालक अनुमपति पत्रको परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका-७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरेको डिएसपी कार्कीले बताउनुभयो । दुबै जनामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।