२०८१ पुष १३ , शनिवार

वातावरण संरक्षणमा नेपाल डिस्टिलरिजको ५ बुँदे प्रतिबद्धता

सुनाखरी न्युज/ काठमाडौं । नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षणमा प्रतिबद्धता जाहेर गरेको छ।

 

विश्व वातावरण दिवसका अवसरमा कम्पनीले वातावरण संरक्षणमा प्रतिबद्धता जनाएको हो। संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो। यो कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि निम्न प्रतिबद्धता जनाएको छ–

१. हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौँ। यसलाई आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौँ।

२. हामी सन् २०३२ सम्ममा सतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौँ। अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौँ।

३. हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौँ। हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौँ। अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौँ। हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन्।

४. हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौँ। आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्नेछौँ।

५. एनडीपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेको छ। आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौँ।