२०८१ आश्विन १३ , आइतवार

हराइरहेका किशोर भिरमा मृत भेटिए, हत्या आशंकामा प्रदर्शन

सुनाखरी न्युज/ अछाम –

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा करिब १७ वर्षका किशोर मृत भेटिएका छन्। जेठ १७ गतेदेखि हराइरहेका करिब १७ वर्षीय विनोद शाही नजिकैको भिरमा शनिबार मृत फेला परेका थिए।

 

शाहीको हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए। ‘प्रदर्शनकारीले प्रहरीलाई घटना स्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न थाले। बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको छ,’ उनले भने।

 

प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो। जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो। मृतक एमाले निकटका युवा रहेको जनाइएको छ।

 

‘एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको छ। चुनावका विषयलाई लिएर सो क्षेत्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झगडा भएको थियो, पारिवारिक झगडा पनि रहेको भन्नेछ,’ उनले भने।  रासस