२०८१ पुष ११ , बिहिवार

बंगलादेश : डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु, दर्जनौँ घाइते

सुनाखरी न्युज/ काठमाडौं –

बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरुलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो ।

 

घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ ।

 

स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत भाँच्चिएको थियो । घटनास्थलबाट करिब चार किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् । देशको दोस्रो ठूलो सहर चटगाउँबाट सीताकुण्ड मात्र ४० किलोमिटर टाढा छ ।

 

दुर्घटनापछि सहरका अस्पतालहरू घाइतेहरूले भरिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोका कर्मचारी, आगो निभाउन आएका दमकल र घटनास्थलमा उपस्थित प्रहरी जवान घाइते भएका छन् । डिपोमा करिब ६०० जना कर्मचारी रहेको डिपोको फेसिलिटी डायरेक्टर मुजिबुर रहमानले बताएका छन् । एजेन्सी