२०८१ मंसिर १३ , बिहिवार

सुदूरपश्चिमको तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

 

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राख्नुभएको हो । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राख्नुभयो ।

 

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमती भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सो बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

 

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो ।