२०८१ आश्विन १२ , शनिवार

३ सय ६५ दिननै वातावरण संरक्षणप्रति ध्यान दिऔं

नारायण क्षेत्री/ पोखरा । वातावरण संरक्षणमा चुनौति थपिँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति पोखराले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले वातावरण संरक्षणप्रति सबै जिम्मेवार हुनेपर्नेमा जोड दिएका हुन् ।

 

वातावरण विज्ञ डा. अनिल सुवेदीले आम नागरिकहरुले ३ सय ६४ दिन वातावरणलाई प्रदूषित गर्ने कार्य गरेको बताउँदै १ दिन दिवस मनाएर मात्र त्यसले कुनै अर्थ नराख्ने बताए । उनले वातावरणलाई स्वच्छ बनाउन वृक्षारोपण संगसंगै संरक्षणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । अर्का वातावरण विज्ञ डा. कुलराज चालिसेले वातावरण संरक्षणलाई ध्यान नदिँदा दिन प्रतिदिन पृथ्वीको अवस्था विग्रँदै गएको बताए । अरुलाई शिक्षा दिने तर आफूहरुले त्यसलाई व्यवहारमा कार्यान्वयन भने नगर्ने नागरिकको परिपाटीका कारण वातावरण बिगँ्रदै गएको उनको भनाई थियो ।

 

राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईंले वातावरणको संरक्षण राज्यको प्रमुख दायित्व भएको भएकाले राज्य सुस्ताएको अवस्थामा नागरिकहरुले खबरदारी गर्नुपर्ने बताए । मानवअधिकारको संरक्षणभित्र वातावरण संरक्षणपनि पर्ने भएकाले आगामी दिनहरुमा पनि सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धरले हरेक नागरिकहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने सकेमा मात्र दिवस मनाउनु अर्थ रहने बताइन् ।

 

कार्यक्रममा अधिवक्ता तिलक पराजुली, राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका अधिकृत खिमलाल सुवेदी, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति पोखरामा अध्यक्ष सुनिल पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीतादेवी पौडेल लगायतले वातावरण संरक्षणप्रति सबै नागरिकहरु सचेत हुनुपर्ने बताए । वातावरण संरक्षणका लागि विश्वमा राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७३ देखि हरेक बर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ ।