२०८१ आश्विन १२ , शनिवार

सार्वजनिक यातायात सञ्चालन नहुँदा नागरिकलाई सास्ती

सुनाखरी न्युज/ भक्तपुर –

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिँड्नुपर्छ। सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो।

 

यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ। काठमाडौं उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नम्बर ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन्। उनीहरुलाई जरुरी कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ।

 

सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महंगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ। सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मेहम्मे पर्ने तथा आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान किसानलाई हम्मेहम्मे पर्ने गरेको छ। केही समय अघिसम्म छालिङमा सार्वजनिक यातायात सञ्चालन भएको भएता पनि हाल बन्द हुँदा नजिकका आफन्तले समेत हेला गर्ने गरेको छालिङका स्थानीय गोकर्ण पुरीले बताए।

 

विकासको क्षेत्रमा छलाङ मारेपनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको स्थानीय गोविन्द थापाले बताए। यसैबीच राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भए पनि यातायात सेवा नहुँदा झौखेल र छालिङवासीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गरेका छन्। चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच विस्तारका लागि उनी जुटेका छन्।

 

यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीको समस्या समाधानका लागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु गरेका हुन्। रासस