२०८१ पुष १० , बुधवार

भारतीय चियामा अत्याधिक किटनाशक औषधीको प्रयोग

सुनाखरी न्युज/ काठमाडौं –

अन्तर्राष्ट्रिय खरिदकर्ताले अत्याधिक किटनाशक औषधी प्रयोग गरिएको भन्दै भारतको चिया फर्काएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अत्याधिक मात्रामा रसायन प्रयोग गरिएको पाइएपछि अन्तर्राष्ट्रिय खरिदकर्ताले भारतीय चिया फर्काएका हुन् ।

 

भारतीय चिया निर्यातक संघ (आईटीईए)का अध्यक्ष अंशुमान कनोरियाले विदेशी मुलुकले भारतीय चिया फर्काउन थालेको बताएका हुन् । उनका अनुसार चिया भरिएको जहाजलाई निरन्तर फर्काउन थालिएको छ । श्रीलंकामा सिर्जना भएको स्थितिको फाइदा भारतीय चिया व्यवसायी उठाउन चाहन्थे । श्रीलंकाको चिया निर्यात हिस्सा घटेपछि त्यसको स्थान ओगट्ने भारतीय व्यवसायीको चाहनामा किटनाशकको अत्याधिक प्रयोग बाधक बनेको छ ।

 

भारतबाट निर्यात गरिएको चिया विदेशी मुलुकको ल्याबमा गुणस्तरहीन प्रमाणित भएको छ । यससँगै भारतबाट चिया बोकेर हिंड्ने जहाजको संख्यामा कमी आएको छ । अध्यक्ष कनोरियाका अनुसार देशमा बेचिने चिया भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको मापदण्डअनुसार हुनुपर्छ । तर, भारतमा उत्पादित अधिकांश चियामा अत्याधिक किट्नाशकको प्रयोग गर्न थालिएको छ । भारतले सन् २०२१ मा १९.५९ करोड किलो चिया निर्यात गरेको छ । सन् २०२२ मा ३० करोड किलो चिया निर्यात गर्ने लक्ष्य भारतले लिएको छ ।

 

चिया आयात गर्ने अधिकांश देश युरोपियन मापदण्डलाई मान्छन् । तर, भारतमा उत्पादित चियाको गुणस्तर सो अनुसार नभएपछि धमाधम फर्काइन थालिएको छ । तर, भारतीय चिया उत्पादकहरू विदेशी मुलुकको गुणस्तर मापदण्डलाई मान्नुको सट्टा भारत सरकारसँग मापदण्ड खुकुलो बनाउन लबिङ गरिरहेका छन् । जसले भारतको अत्याधिक चिया निर्यात लक्ष्य प्रभावित बन्ने देखिन्छ । –हिन्दुस्तान डटकमबाट