२०८१ आश्विन १२ , शनिवार

‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

सुनाखरी न्युज/ काठमाडौं –

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गरेका छन्। बैठकले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनीहरूले समय सापेक्ष रूपमा कानुनलाई परिमार्जन गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

 

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमृता थापाले कानुन बनाउँदा दीर्घकालीन रूपमा सोचेर अघि बढ्नुपर्ने सुझाव दिइन्। उनले घटना हुन नदिनु नै सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पीडक नछुटोस् र पीडितले न्याय पाओस् भन्नेतर्फ सचेत हुन आग्रह गरिन्।

 

सांसद दुर्गा पौडेलले गम्भीर प्रकारको अपराधको रूपमा रहेको यौन हिंसाका घटना दैनिक बढ्दो क्रममा रहेको भन्दै चिन्ता प्रकट गरिन्। उनले यौन हिंसाका घटना घट्नुमा एउटामात्रै कारण नभएकाले परिवारबाटै सचेतना फैलाउनु जरूरी रहेको बताइन्। उनले यौन हिंसासम्बन्धीका घटनाका लागि उजुरी दिने हदम्याद बढाउनुपर्नेमा जोड दिँदै घटना के/कस्तो भएको हो? त्यसको प्रकृतिलाई पनि ध्यान दिनुपर्ने बताइन्।

 

उनले भनिन्, ‘बलात्कृत महिलाले समाजमा बाँच्नै नसक्ने अवस्था हुन्छ, हाम्रो सामाजिक संरचना नै त्यस्तै छ, पीडितको ग्यारेन्टी सरकारले गर्नुपर्छ।’  अर्का सांसद प्रेम सुवालले सबैको सांस्कृतिक स्तर उठाउने गरी काम गर्नुपर्नेमा जोड दिए। रासस