२०८१ आश्विन १२ , शनिवार

‘साउनपछि इम्बोस्ड जडान नगर्ने सबै सवारीलाई कारवाही हुँदैन,नयाँ दर्ता गर्नेलाई अनिवार्य हो’:विभाग

सुनाखरी न्युज/ काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले साउनपछि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबै सवारीसाधनलाई कारवाही हुने भन्ने हल्ला गलत रहेको बताएका छन् । उनले असारभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्भव नभएको भन्दै नयाँ दर्ता गर्ने सवारीको हकमा लागू हुने बताए ।

 

‘साउन १ गतेपछि नयाँ दर्ता गर्ने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नहालेको भेटिएमा कारवाही गर्ने भनिएको हो’ घिमिरेले भने ‘पुराना सवारीको हकमा यातायात कार्यालयहरुले निश्चित लटका आधारमा सेड्युलिङ तोकिने र सो लटमा परेका सवारीसाधनले यातायात कार्यालयहरुले तोकेको समयमा इम्बोस्ड जडान नगरे कारवाही गर्ने भनिएको हो।’असार भित्रै सबै पहिलो चरणका २५ लाख सवारसाधनमा इम्बोस्ड नम्बर जडान सम्भव नहुने घिमिरेको भनाई छ । ‘अहिले ४० लाख भन्दा बढी सवारी दर्ता भइसकेका छन तर यो प्रोजेक्ट अहिले २५ लाख सवारीसाधनमा मात्रै इम्बोस्ड जडान गरिने हो’ उनले भने ‘ सबै सवारीलाई समात्दै कारवाही गर्ने हल्ला गलत हो।’

 

२०७३ जेठ १७ मा भएको ठेक्का सम्झौता अनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नु पर्ने थियो । तर विभागका अनुसार अहिलेसम्म सरकारी गाडी, ट्याक्सी तथा निजी सवारीमा करिब २५ हजार सवारीमा मात्र जडान भएको छ । इम्बोस्ड नम्बर प्लेटको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ज्वाइन्ट भेन्चरले जिम्मा पाएको थियो ।

 

२०७८ असारमा ठेक्का सम्झौता सकिएपछि कोभिडको वाहानामा २८ महिनाका लागि म्याद थप गरिएको थियो । अब १६ महिनाभित्र २४ लाख ७५ हजार इम्बोस्ड नम्बर वितरण गरिसक्नुपर्ने बाध्यकारी अवस्था छ ।‘प्रोडक्सनको समस्या छैन तर, जडानमा समस्या हो’ घिमिरे भन्छन ‘अब १६ महिनामा २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्न देशभरबाट दैनिक ५ हजारका दरले जडान गर्नुपर्छ जुन चुनौतिपूर्ण छ ।’