२०८१ आश्विन १२ , शनिवार

बन्चरेडाँडातर्फ गएका गाडी आज दोस्रो दिन पनि स्थानीयको अवरोध

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि दोस्रो दिन अवरोध गरेका छन् ।

 

काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै अवरोध गरेका हुन् । काठमाडौं महानगरपालिकाको वातावरण शाखाका अनुसार स्थानीयको विरोध जारी रहेका कारण फोहोर विर्सनामा अवरोध भइरहेको छ।

 

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र फोहोर विसर्जन हुने नुवाकोटका २ पालिकाका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापनका सन्दर्भमा सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर उठाउन थालिएको थियो। मंगलबार काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयले बाटोमै रोकेर अवरोध गरेका थिए।

 

प्रहरी परिचाल गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरिएको थियो। काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।