२०८१ पुष १० , बुधवार

पापाले गाली गरेको भए उनलाई पनि गोली हान्थ्यौ ? पब्जीका लागि आमाको हत्या गर्ने छोराले दिए यस्तो जवाफ

सुनाखरी न्युज/ काठमाडौं –

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा भएको हत्याको कहानीले धेरैलाई चकित पारेको छ । १६ वर्षका यी किशोरले आफ्नी आमाको गोली हानी हत्या गरेको भन्ने खबरमाथि धेरैले विश्वास गर्न सकिरहेका छैनन् ।

 

ती किशोर जतिबेला पनि पब्जी खेल्न चाहन्थे तर आमाले भने उनलाई यसो गर्न रोकेपछि रिसाएका उनले आमाको हत्या गरेको बयान दिएका छन् । घटना शनिबार र आइतबारको मध्य रातको हो । १६ वर्षका छोराले आफ्ना पिताको लाइसेन्स भएको बन्दुकले आफ्नी आमाको हत्या गरेका छन् । आमालाई गोली हानेपछि उनी निकै आरामले कुनै चिन्ता बिना नै तीन दिनसम्म पार्टी गरिरहे । यतिबेला उनले आफ्नो बहिनीलाई धम्काए पनि । साथीसँग क्रिकेट खेले र उनीहरुसँग उनकै घरमा पार्टी गरे, जहाँ आमाको शव थियो ।

 

शवको दुर्गन्ध हटाउनका लागि रुम फ्रेशनरको अत्यधिक प्रयोग गरे । यो घटना सार्वजनिक भएपछि आरोपीलाई हिरासतमा लिएर सोधपुछ गरिएको छ ।सोधपुछका बेला आरोपीले आफूलाई आमाको हत्यामा कुनै सोधपुछ नभएको बताएका छन् । प्रहरी र ती आरोपीबीचको सवाल जवाफ एक भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको छ, यसबारे जानकारी लिऔँ ।

प्रश्न – तिमीले यस्तो किन गर्यौ ?

आरोपीले कुनै जवाफ दिएनन् ।

प्रश्न – प्रहरीले फेरि सोधे ?

जवाफ – मम्मीले सधैँ रोकटोक गर्ने गर्नुहुन्थ्यो । गेम खेल्न दिनु हुँदैनथ्यो ।

प्रश्न – गोली कसरी हान्नुभयो ?

जवाफ – राती सुतिरहेका बेला । जब मम्मी सुत्न जानुभयो तब पापाको बन्दुकबाट गोली हानेँ ।

प्रश्न – प्रहरीले समात्छ भनेर डर लागेन ?

जवाफ – लागेन

प्रश्न – बहिनीलाई के भन्यौ ?

जवाफ – मम्मीबारे कसैलाई केही भन्यौ भने तिमीलाई पनि मार्नेछु, चुप बस्नु ।

प्रश्न – कस्तो गेम खेल्थ्यौ फोनमा ?

जवाफ – अनलाइन गेम । पब्जी, फाइटर इन्स्टाग्राममा बस्थेँ । राम्रो लाग्थ्यो । मम्मीले रोक्नुहुन्थ्यो । रिस उठ्थ्यो ।

प्रश्न – पापाले यदि गाली गर्नुभएको भए उनलाई पनि गोली हान्थ्यौ ?

जवाफ – त्यो त्यतिबेला नै हुन्थ्यो, अहिले यस्तो गर्थेँ भनेर कसरी भनुँ ?

प्रश्न – तिमीलाई जेल सजायँ हुनेछ भन्ने सोचेनौ ?

जवाफ – अहँ, यति धेरै सोच्दिनँ ।

प्रश्न – साथीहरुसँग पार्टी किन गर्यौ ?

जवाफ – राती डराएको थिएँ र उनीहरुसँग बसेर फिल्म नहेरेको पनि धेरै भएको थियो । उनीहरुले मलाई फिल्म हेर्न जाऔँ भनिरहेका थिए, मैले उनीहरुलाई घरमा नै बोलाएँ ।

प्रश्न – बहिनीलाई खाना कहाँबाट ल्याएर दियौ ?

उत्तर – स्कुटीमा बाहिर जान्थेँ र खाना ल्याउँथे । आफूलाई मन लागेको खाना ल्याउँथे ।

प्रश्न – घरमा खाना बनायौ ?

जवाफ – हो बनाएँ । बहिनीलाई जे मन पर्दथ्यो,
त्यहि बनाइदिन्थेँ ।

प्रश्न – अब आमा त छैनन्, दुःख लागेको छैन तिमीलाई ?

जवाफ – छैन, दुःख लागेको छैन ।

प्रश्न – घरमा फोन आउँदा के भन्थ्यौ ?

जवाफ – मम्मीको फोन मसँग थियो । त्यसपछि आफ्नो फोनबाट ‘मम्मी हजुरआमालाई भेट्न जानुभएको छ, घर आए पछि फोन गर्न लगाउँछु’ भन्थेँ ।

प्रश्न – पिताको फोन किन उठाएनौ ?

जवाफ – फोन असाध्यै धेरै आइरहे पछि उठाएँ । त्यसपछि यस्तो भयो भनेर देखाएँ ।

प्रश्न – मोबाइलमा पोर्न हेर्ने गर्दथ्यौ, मम्मीले नहेर भन्नुहुन्थ्यो ?

जवाफ – मेरा साथीहरु हेर्थे, उनीहरुलाई कसैले पनि यस्तो नगर्न भन्दैनथे ।

प्रश्न – कहानी किन बनायौ ?

जवाफ – कसैलाई केही थाहा हुँदैन होला भन्ने ठानेँ ।

छोरालाई किन माफी दिइयोस् भन्ने चाहन्छन् पिता ?

यसैबीच आरोपीका पिताले छोरालाई माफी दिन आग्रह गरेका छन् । उनले भने, ‘श्रीमतीको मृत्यु भयो, अब एक्लो छोरालाई जेल नहोस् । पूरा घर बर्बाद भयो, अब केही बाँकी छैन । यो मेरो एक्लो छोरा हो, उनले नबुझेर हत्या गरेको हो, यसैकारण उनलाई माफी दिनु पर्छ । मेरो परिवारलाई बचाइयोस् ।’ एजेन्सी