२०८१ आश्विन १२ , शनिवार

गलकोट क्षेत्रमा पहिरो जाँदा घरगोठ र पशुधनको क्षति

सुनाखरी न्युज/ म्याग्दी –

दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्‍याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए ।

 

गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पुर्‍याएको छ । ‘साविक वडा नं ३ का अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्’, उनले भने, ‘गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ ।’

 

बाढी पस्दा खेतमा भर्खर लगाएको धानबाली पनि नष्ट भएको छ । जोखिम न्यूनीकरण गर्ने र विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन नगरबाट पहल भइरहेको जनाइएको छ । पहिराका कारण गए रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिए ।  वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात सञ्चालनमा अवरोध खडा गरेको थियो । बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन बाटैमा अलपत्र परेका थिए ।

 

यात्रुले सास्ती खेप्नुपरेको थियो । लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरा पन्छाएपछि यातायात सेवा सञ्चालन भएको हो । गलकोट-१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घरहरू जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ । बाढीले स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानसमेत पुरिएको छ ।

 

वर्षा भइरहँदा स्थानीयवासीले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहनुभएका नगरका प्रवक्ता भण्डारीले बताए । वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पुर्‍याएको छ । नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो । बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन् । पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । यात्रा जोखिमपूर्ण बनेको छ । कतै रुख ढलेर सडक छेकेका छन् ।

 

गलकोट–बागलुङ चल्ने जिपका चालक राजेन्द्र विकले पहिरा छल्दै यात्रा गर्नुपरेको सुनाए । यसै त रुग्ण बनेको लोकमार्गको बागलुङ–गलकोट खण्डलाई बाढीपहिराले थप बिगारेको उनको भनाइ छ । विकका अनुसार त्यस खण्डका दर्जनौँ ठाउँमा पहिरा खसेका छन् । तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गरे पनि सडकको दीर्घकालीन सुधार हुनुपर्ने स्थानीयवासीको माग छ ।

रासस