२०८१ आश्विन १२ , शनिवार

फोहोरको समस्या समाधानका लागि शुक्रबार विहान वार्ता

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ ।

 

वार्तामा सरकार तर्फबाट शहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुनुहुनेछ । शहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो । सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन । आफूलाई सोध्दै नसोधी गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका थिए । यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बनेको थियो । सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो ।

 

बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए । तनाव चर्किँदै गएपछि शहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर बिहीबार वार्ता गर्न लागेको हो । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुनेछ । वार्तामा ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोरा पनि बैठकमा सहभागी हुनेछन् ।

 

यसअघि प्रधानमन्त्रीले नै संघर्ष समितिसँग वार्ता गर्ने भनिएको थियो । बञ्चरेडाँडाबाट बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक ढुंगानासहित तीन जनालाई प्रधानमन्त्रीले छलफल गर्ने भन्दै छाडिएको थियो । सरकारले १७ वर्षदेखि काठमाडौंको फोहोर सिसडोलमा फाल्दै आएको छ । सिसडोल भरिएपछि बञ्चरेडाँडा डम्पिङ साइटमा फाल्न खोजिएको हो । डम्पिङ साइट निर्माण पूरा नहुँदै र बञ्चरेका बासिन्दाको माग बेवास्ता गर्दै फोहोर फाल्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलित छन् ।