२०८१ आश्विन १२ , शनिवार

पहिरोमा परी धनमाल क्षति तथा बाटो अवरोध

सुनाखरी न्युज/ काठमाडौं –

धादिङ – त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरे गाउँ बस्ने ५५ वर्षीय नेत्र बहादुर खाँडको घर शुक्रबार बिहानको पहिरोमा पारी पुरिएको छ । उक्त घरमा नेत्र बहादुर खाँड बस्दै आएको बुझिएपछि प्रहरी चौकी सल्यानकोट चिसापानी र अस्थाई प्रहरी पोष्ट आगिनचोकबाट खटिएको प्रहरीले जेसिबिको सहयोगमा माटो हटाउने कार्य गरिरहेको छ ।

तनहुँ – आबुखैरेनी गाउँपालिका-४ साखरस्थित पृथ्वी राजमार्गको सडकखण्ड शुक्रबार बिहान भासिँदा मुग्लिनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको कार र बा.३३ प १०८१ नम्बरको नम्बरको मोटरसाइकल २ सय मिटर तल भासिएर मस्याङ्दी नदीको खोजमा खसेको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले, नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार कार्य गरिरहेको छ ।

 

मोटरसाइकलमा सवार २ जनालाई सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ । यसैगरी तनहुँ, भानु नगरपालिका-३ कुरकुना र सोही नगरपालिका-१ रमाईलो डाँडास्थित डुम्रे बेशिसहर सडकमा अविरल वर्षाको कारण गएराति पहिरो जाँदा रूख ढली बाटो अवरोध भएको छ ।

 

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-११ मेलम्चीस्थित इन्द्रावती खोलामा शुक्रबार बिहान आएको बाढीले खोलामा हिमपाइप राखी अस्थायी रुपमा निर्माण गरेको बाटो बगाउँदा सोही नगरपालिका वडा नम्बर ९ र १० तथा पाचपोखरी थाङपाल गाउँपालिका जाने बाटो पूर्णरुपमा अवरोध भएको छ ।
घटनास्थल नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पहिरो हटाउने तथा उद्धार एवं थप अनुसन्धान कार्य गरिरहेको छ ।