२०८१ आश्विन १२ , शनिवार

काठमाडौंबाट एकैदिन उठाइयो दुई हजार ३ सय मेट्रिक टन फोहोर

सुनाखरी न्युज/ काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ। शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।

 

बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन। उनीहरूसँग सहमति भएपछि पुन: फोहोर उठाउने सहमति भएको हो। शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले अवरोध गरेको थिएन।

 

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको छ। फोहोरको व्यवस्थापन र उत्पादन कम गर्नको लागि महानगरले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन अनुरोध गरेको छ।