२०८१ आश्विन १२ , शनिवार

कञ्चनपुरकी एक महिला छ दिनदेखि सम्पर्कविहीन

सुनाखरी न्युज/ कञ्चनपुर  –
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन्। उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन्।

 

रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पुर्‍याएका थिए। यसपछि उनी बस चढेर फूपूको घरतर्फ लागेकी थिइन्। परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन्। परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन्।

 

जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन्। ‘त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्, मनोहरले भने, ‘अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ।’ खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन्।

 

प्रहरी र आफन्तले रामकलीको खोजी गरिरहेका छन्। रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो। उनी १५ वर्षीय छोरासँग बस्दै आएकी थिइन्।  रासस