२०८१ कार्तिक ३० , शुक्रवार

‘ मल पनि छैन सिँचाइ पनि छैन ’

सुनाखरी न्युज/ कैलाली-

मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् ।

 

धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिका–३ मालझुलस्थित रानी कुलाको बाँध लगाउन व्यस्त छन् । यसका लागि झाला पाता, नर्कट, माटो, ढुङ्गा, प्रयोग गरिरहेका छन् । यसरी बाँध बाध्न आवश्यक झालापातालगायतका सामान किसानले घरघरबाट बोकेर लगेका हुन् ।

 

“किसानले डनलप, ट्र्याक्टर, साइकलमा घरघरबाट झाला पाता, नर्कट बोकेर लगेका हौँ”, रानी कुलाका अध्यक्ष श्रीपाल चौधरीले भने, “खेती गर्ने समयमा पानीको जोहो पनि किसान आफैँले गर्नु परिरहेको छ । एकातिर किसानलाई मल नपाएर समस्या छ, अर्कोतर्फ खेती गर्ने समयसम्म सिँचाइ सुविधा पुगेको छैन । ” रानी कुलाको महुनमा भएको बाँध रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भइरहेका तटबन्धभ निर्माण गर्दा ठेकेदारले भत्काइदिएको किसानको गुनासो छ ।

 

ठेकेदारले बाँध निर्माण गरिदिने भने पनि अहिलेसम्म निर्माण नगरिदिएपछि असार लाग्नै थाल्दा ५२ गाउँका किसान आफैँ मुहानमा पुगेका हुन् । “आवश्यक सामान जोहो पनि हामी आफैँले गरेका छौँ, हरेक घरबाट एक÷एक जना किसान श्रमदानमा जुटेका छौँ”, उनले भने, “प्रति उपभोक्ता रु १५ उठाएका छौँ, आइतबार श्रमदान गर्यौँ, झालापाता बाध्ने काम गर्यौँ, आज स्काभेटरले ग्राभेल उठाएर झाला दवाउने काम गर्ने तयारी छ ।” बाँध लगाउन किसानले झाला पाता, नर्कट, माटो, ढुङ्गा प्रयोग गरेका छन् ।

 

“आयोजनाले तटबन्ध निर्माण गर्दा यसअघि मुहानमा रहेको जाली, तटबन्ध सबै भत्काइदिएको थियो । हामीलाई आयोजनाले बनाइदिन्छु भनेको थियो तर बनाएन”, किसान रमेश चौधरीले भने, “निर्माण ठेकेदारले गरेन भनेर कुर्ने कुरा भएन । समयमै बाँध नबनाएमा सिँचाइ सुविधा पाउन र बर्सातमा आउने बाढी नियन्त्रण गर्न सकिँदैन । त्यसैले हामी आफैँ जुट्यौँ ।” रानी कुलाको मुहानमार्फत यस क्षेत्रमा ७०० हेक्टर जमिन सिँचाइ हुन्छ ।

 

रानी कुलाबाट १९ शाखा कुलामा पानी जान्छ । “सबैभन्दा लामो कुलामा रानी कुला पर्छ । यहाँबाट सिँचाइ सुविधा लिने जमीन बढी छ”, किसान दिलेन्द्र कुश्मीले भने, “बीउ त जसोतसो बोरिङ मोटरको सहयोगमा राखियो, अब खेतमा पानी नपुगे धान रोप्न सकिँदैन ।” कैलालीमा सिँचाइ सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा छ ।

 

आयोजनाले सिँचाइ सुविधाका लागि गाउँ गाउँमा नहर निर्माण, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता कार्य गर्दै आएको छ । आयोजनाले शाखा, प्रशाखा कुला व्यवस्थापनमा सघाउने काम गरिरहे पनि निर्माण कम्पनीले भत्काएका संरचना समयमै मर्मत नहुँदा किसानले खेती गर्ने समयमा दुःख पाउने गरेका छन् । रासस