२०८१ पुष ८ , सोमवार

मेचीनगरमा अज्ञात रोगले बङ्गुर मर्न थाले

सुनाखरी न्युज/ झापा –

अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् ।

 

स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गल चोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उनले भने, ‘बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।’

 

ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ । “हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे”, उनले भने, “पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।”

 

बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्ने जस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशु सेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ । विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए । रासस