२०८१ कार्तिक १७ , शनिवार

भारत नियन्त्रित काश्मिरमा भिडन्तमा यो वर्ष १०० विद्रोहीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

यस वर्षको शुरुदेखि नै सरकारी फौजले भारत प्रशासित काश्मिरमा भएका सशस्त्र भिडन्तमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, “यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।”

 

प्रहरीकाअनुसार गत वर्षको सोही अवधिमा मारिएका विद्रोहीको संख्याभन्दा यो सङ्ख्या दोब्बर हो । आइतबार प्रहरीले त्यस क्षेत्रमा दुई अलग–अलग भिडन्तमा चार विद्रोहीको मृत्यु भएको जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरमा एकजना विद्रोहीको गोली लागी मृत्यु भएको छ भने दक्षिणी पुलवामा जिल्लामा अन्य तीन जनाको मृत्यु भएको छ ।

 

प्रहरीकाअनुसार, यीमध्ये अधिकांश कारबाही विद्रोहीहरूको उपस्थितिको संकेत दिने पूर्व विशिष्ट गुप्तचर जानकारीको आधारमा गरिएका थिए । भारत र पाकिस्तानबीच विभाजित हिमालय क्षेत्र काश्मिर दुवैले पूर्ण दावी गरेका छन् । बेलायतबाट स्वतन्त्र भएदेखि यी दुई देशले तीनवटा युद्ध लडेका छन् । तीमध्ये विशेषगरी दुईवटा कश्मीरी क्षेत्रमा लडेका छन् । एजेन्सी