२०८१ पुष १९ , शुक्रवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 

उच्च अदालत पाटन ललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० लाख ५० हजार रुपैयाँ जरिवाना र विगो रुकम १० लाख ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

 

यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ४७ वर्षीय भिम बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १८ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजंगजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

 

ज्योति विकास वैंक लिमिटेड जोरपाटी शाखामा रहेको तामाङको खातामा पर्याप्त मौज्दात रकम नभएकोमा रकम भुक्तान हुने भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।