२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

मोरङ – सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित सडकमा को.१० प ३७११ नम्बरको मोटरसाइकल प्र.१-०४-००१ च ०३९३ नम्बरको पिकअपसँग पछाडिबाट ठक्कर खाइ सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलका चालक झापाका ३० वर्षीय आसिरुदिन अलिको मृत्यु भएको छ ।

 

मोटरसाइकल पिकअपसँग ठक्कर खाई हाल नम्बर नखुलेको अर्को मोटरसाइकललाई समेत ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको ईटहरी बेदान्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार झापाका ३७ वर्षीय आर्जल हक मिँयाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

धादिङ – धुनिवेशी नगरपालिका-९ सुरुङमार्गस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी बा.८२ प ५६४५ नम्बरको मोटरसाइकलमा सवार निलकण्ठ नगरपालिका-१२ बस्ने ४४ वर्षीय यम बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ना.५ ख ७३८६ नम्बरको ट्रकको ब्रेक फेल भई बा.२ क ३४०४ नम्बरको आईचरलाई ठक्कर दिएपछि आईचर पछाडी हट्दा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक निलकण्ठ नगरपालिका-८ बस्ने २३ वर्षीय गणेश श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ । ३ वटै सवारी साधन, ट्रक चालक र आईचर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।