२०८१ आश्विन १२ , शनिवार

दूध चुसाउँदै आमरण अनशन बस्नु राज्यका लागि लाजमर्दो हो : थममाया थापा

सुनाखरी न्युज/ काठमाडौं –

प्रतिनिधि सभामा निहारिका राजपुत अनशन प्रकरणबारे सांसद थममाया थापामगरले सवाल उठाएकी हुन्।

 

बलात्कारबाट आफ्नो बच्चा जन्मेको तर न्याय नपाएको बताउँदै माइतीघरमा अनशनरत राजपुत राज्यले उनको माग पुरा गर्नुको साटो थाहा नपाए जस्तो कानमा तेल हालेर बसेको उनको भनाइ छ । उनले भनिन्, ‘दूध चुसाउँदै आमरण अनशन बस्नु राज्यका लागि लाजमर्दो हो। सबै निकायमा न्यायका लागि भीख मागिन्। अदालतलेसमेत न्याय दिन सकेन।’

 

उनले थपिन्, ‘यस्ता घटना धेरे छन् तर परिवार र समाजको डरले बाहिर आउँदैनन्। समाजमा यस्ता हजारौं महिला भएको बताउँदै उनले यसलाई एउटा घटनाका रूपमा नलिन संसद्मार्फत आग्रह गरेककी छिन्।

 

अनशन बसेको ६ दिन भइसक्दा पनि राज्यको चासो नभएका कारण दूधे बालक दूध खान नपाएर छटपटाइरहेको उनले जानकारी गराइन्। उक्त विषयमा छानबिन गरी अपराधीलाई कारबाही गर्न सरकारसँग सांसद थापामगरले माग गरेकी छिन्।