२०८१ आश्विन १२ , शनिवार

प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय हुनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ ।

 

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनियता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो ।

 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न निर्देशन दिनुभयो । भवन निर्माणमा मितव्ययिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बि.सी. र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।