२०८१ मंसिर ७ , शुक्रवार

तनहुँमा अझै पुगेन पाठ्यपुस्तक

सुनाखरी न्युज/ तनहुँ  –

नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ। सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्।

 

विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै किताब जिल्लामा आइनपुगेको बताइएको छ। अनिवार्य विषयतर्फका मुख्य विषयको पुस्तक पनि जिल्लामा अभाव देखिएको छ। निर्वाचनकेन्द्रित अन्य छपाइ तथा कागज अभावका कारण देखाउँदै शिक्षा मन्त्रालयले पाठ्यपुस्तक छपाइमा समस्या भएको बताएको छ।

 

विद्यालय सञ्चालन भएको एक महिनासम्म पनि पूरा किताब नआएको दमौलीस्थित साझा बुक्स एण्ड स्टेशनरीका सञ्चालक हरिहर घिमिरेले बताए। ‘शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुने बेलासम्म समेत पाठ्यपुस्तक आउन सकेको छैन, यस्तो तरिकाले कसरी विद्यार्थीले एक वर्षभित्र पाठ्यक्रम पूरा गर्छन्?, उनको प्रश्न छ। जिल्लाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ।

 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुस्तक पाउन मुस्किल भएको व्यास नगरपालिका–१ का सीता बजगाईँले गुनासो गरिन्। छोराछोरीका लागि आवश्यक पर्ने पुस्तक अझै आइनपुगेको उनले बताइन्। प्रत्येक वर्ष समयमा पुस्तक नपाउने समस्या यस वर्ष पनि दोहोरिएको उनको भनाइ छ। तनहुँ पुस्तक व्यवसायी महासंघका उपाध्यक्ष रामकृष्ण न्यौपानेले सरकारी पुस्तक आउन ढिलाइ भएको र संस्थागत विद्यालयमा पनि पुस्तक अभाव भएको बताए।

 

जिल्लामा सामुदायिक तथा संस्थागत सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको छ। शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख वसन्तराज पौडेलले अन्य जिल्लाको तुलनामा तनहुँमा पुस्तकको अभाव कम देखिएको बताए। जिल्लामा काठमाडौंबाट मात्रै नभई पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत पाठ्यपुस्तक आएका कारणले अन्य जिल्लाको तुलनामा यहाँ पुस्तकको अभाव कम भएको उनको दाबी छ।

 

पाठ्यक्रम फेरिएका कक्षामा पुरानै पुस्तकबाट पठनपाठन हुँदै आएको उनले बताए। तनहुँमा ४३२ सामुदायिक र ११९ निजी विद्यालय छन्। सामुदायिक विद्यालयमा करिब ६४ हजार र निजी विद्यालयमा ३२ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। रासस