२०८१ आश्विन १२ , शनिवार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सुनाखरी न्युज/ कैलाली–

कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारी रहेकी इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

 

कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जंगलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

 

नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुंगा संकलन गरिरहेका थिए। एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।

 

पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जंगली जनावरको आक्रमण बढ्दै गएको छ। जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ।

रासस