२०८१ पुष ८ , सोमवार

रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सुनाखरी न्युज/ सर्लाही–

जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन्। बालीनाली लगाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने अन्योलमा छन् हरिवनका किसान रामपुकार महतो। उनले भने, ‘जिल्लामा रासायनिक मलको हाहाकार छ। सरकारले हाम्रा माग सुन्दैन। तर, हामीलाई मन नभई नहुने अवस्था छ।’

 

यस्तै अर्को किसान कपील साह पनि मल पर्खेर बसेको गुनासो सुनाउँछन्। ‘हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरुले दीर्घकालीन समाधान खोजेका छैनन्। माथिको लडाइँले हामी किसानलाई मारमा पारेको छ’, उनी भन्छन्, ‘सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा अहिले पनि उस्तै छ। अब रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको छ।’ समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ।

 

‘नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य आउँछ तर मल आउँदैन। आँशु चुहाउँदै गरेका किसाको फोटो पनि आउँछ। किसान लाइनमा बस्छन् तर मल पाउँदैनन्। बाली लगाउनेबेला नै मल नपाए हामी कसरी बाँच्नु?’ अर्का किसान रामविनोद यादवको प्रश्न छ। जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। धान बालीका लागि कम्तिमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ। तर, धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ।

 

नेपालमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलको हो। साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत मल ल्याउने गरे पनि जिल्लामा आवश्यक मात्रामा मल अभाव पुरानै व्यथा रहेको उक्त केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशबाहले बताए। ‘नेताहरुले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिँचाइको समस्यामा अल्झिन बाध्य छन्’, उनले भने। आगामी आर्थिक वर्षमा कृषि उत्पादन ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको सरकारले किसानलाई मलको व्यवस्था गर्न नसकेकामा प्रतिनिधिसभा सदस्य डिल्ली उप्रेतीले असन्तुष्टि जनाए।

 

उनले भने, ‘खेती सुरु भइसक्यो तर किसानले अहिलेसम्म मल पाएका छैनन्। मलका गोदाम खाली छन्, केन्द्र सरकार के गर्दै छ ?’

सरकारको प्राथमिकतामा कृषि छ कि छैन भन्ने कुरा किसानले मल नपाएबाटै स्पष्ट भएको प्रदेशसभा सदस्य बेची लुगेलीले बताइन्। ‘सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको जिकिर गर्दै मल खरिदका लागि आगामी आर्थिक वर्ष १५ अर्ब विनियोजन गरेको छ  तर उक्त रकम चालू वर्षको भन्दा झण्डै आधा कम भएकाले किसानले आवश्यक मात्रामा मल नपाउने निश्चित छ,’ उनले भनिन्। मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै सांसदलेसमेत आपत्ति जनाएका छन्।

 

मल खरिदमा ठूलो रकम चलखेल हुने भएकाले समयमै र मागे जति मल किसानले नपाउने गरेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए। ‘इच्छा भए त मल किन नआउनु र? तर सरकारले ल्याउनै खोजेको छैन। मलमा माल खोजिरहेको छ। जबसम्म माल आउँदैन तबसम्म मल आउनेवाला छैन’, उनले भने। चालू आथिर्क वर्षको हालसम्म करिब डेढ लाख टन मल खरिद भएको सरकारले बताए भए पनि सबैभन्दा धेरै मल आवश्यक पर्ने समयमै गोदाम रित्तै छन्। रासस